१३ बैशाख २०८१, बिहीबार

जगदम्बाका सुलभ अग्रवालले कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी !

jagadamba suraj agrwal

शंकर ग्रुप तथा जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। प्रहरीले कालोबजारी गरेको आरोपमा उनलाई आज दिउँसो नक्सालबाट पक्राउ गरेको हो।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ हुन् । पाँच हजार रूपैयाँ पर्ने थर्मल गन १५ हजार रूपैयाँमा बिक्री गर्न खोजेको प्रहरीको दाबी छ । मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी प्रहरीको फन्दामा परे ।

thermal gun jagadamba

शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट सात टन स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए ।

अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको छ । एसएसपी थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

अग्रवालले चढ्ने गाडी नै अवैधानिक

jagadamba black market

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले प्रयोग गरेको गाडी नै अवैधानिक रहेकोे पाइएको छ।

कालोबजारी गर्न ६७ थान थर्मल गन बोकेको नियोगको २०९ एचसिसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो। उनले आफू नेपालका लागि किर्गिजस्तानका मानार्थ दूत भएको र सोही सुविधाबापत कूटनीतिक नियोगको गाडी प्रयाग गर्दै आएको प्रहरी समक्ष बताएका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले यसबारे परराष्ट्रसँग बुझ्दा उनले कुनै कूटनीतिक नियोगको गाडी प्रयोग गर्न नपाउने जानकारी आएकाले बरामद गाडी समेत अवैधानिक रहेको पाइएको बताए।

‘उनी मानार्थ दूत रहेछन्। त्यो भनेको सर्वसाधारण नागरिक सरह नै हो। त्यो भएर उनले कुटनीतिक नियोगको गाडीसमेत प्रयोग गर्न नपाउने देखियो। उनले यो गाडी प्रयोग गर्नु नै अवैधानिक हो,’ एसएसपी थापाले भने।

गाडी कसरी, कहाँबाट प्रयोग गरे भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चैत १९ गते जारी भएको सवारी पास समेत बरामद गरेको छ। उनले पासमा प्रयोग गर्ने स्थानमा उपत्यका भनेर राखेका थिए।

थर्मल गनको कालोबजारी हुने गरेको थाहा पाएपछि महाशाखाका प्रहरी ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्न गएका थिए। ५ हजार रुपैयाँ पनि नपर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्न लागेपछि प्रहरीले उनलाई नक्सालबाट पक्राउ गरेको हो।