१४ बैशाख २०८१, शुक्रबार

विशेषज्ञ डाक्टर नहुँदा बिरामी बाहिरी जिल्लाका अस्पताल धाउन बाध्य

mugu

मुगुमा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर छैनन् । १५ सैय्याको एक मात्र अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी ठूलो रकम खर्चेर उपचारका लागि बाहिरी जिल्लाका अस्पताल धाउन बाध्य छन् ।

मुगुमा एउटा सरकारी अस्पताल छ । तर, ठिनीमा रहेको १५ शैय्याको अस्पतालमा विशेषज्ञ डाक्टर छैनन् । त्यहाँ तीन जना विशेषज्ञ डाक्टर र चार जना मेडिकल अधिकृतको दरबन्दी छ ।

तर, पाँच महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा करारमा रहेका चार जना मेडिकल अधिकृतको भरमा अस्पताल संचालन भइरहेको छ । विशेषज्ञ डाक्टर नहुँदा मुगु जिल्ला र हुम्ला जिल्लाका दर्जनौ वस्तीका नागरिक अस्पतालबाट पाउर्ने विशेषज्ञ सेवाबाट बञ्चित छन् ।

यहाँ कोरियाली सहयोग एजेन्सी कोइकाले सुविधा सम्पन्न भवन निर्माण गरेको थियो । अन्य संस्थाको सहयोगमा विभिन्न उपकरण पनि अस्पतालमा ल्याइएको छ । तर, उपकरण संचालन गर्ने विशेषज्ञ नहुँदा स्थानीय सेवा लिन नेपालगञ्ज, जुम्ला, सुर्खेत र भारतसम्म पुग्न बाध्य छन् ।

मौसम परिवर्तनको प्रभावले अहिले अस्पतालमा बिरामीको चाप बढेको छ । विशेषज्ञ डाक्टर पठाइदिन कर्णाली प्रदेश, संघीय सरकार र अन्य सरोकारवाला निकायसँग मौखिक र लिखित रुपमै माग पनि गरिएको हो । तर, मुगु अस्पताल र त्यहाँका बिरामीका विषयमा कसैले चासो दिएका छैनन् ।

संविधानमा मौलिक हकका रुपमा उल्लेख भएको स्वास्थ्य सेवाको हकबाट मुगुका नागरिक बञ्चित छन् । यससँगै निःशुल्क औषधिसमेत यहाँ पुग्ने गरेको छैन । जसका कारण यहाँका नागरिकले महँगो रकममा निजी फार्मेसीबाट औषधि किन्नु परिरहेको छ ।