१४ बैशाख २०८१, शुक्रबार

विवाद मच्चिएपछि काँग्रेसबाट धमाधम राजीनामा, एकैदिन सयौंले छोडे पार्टी

deuba sekhar
फाइल फोटो

स्थानीय तहको निर्वाचन नजिकिंदो मात्रै होइन उम्मेद्वारी मनोनयन गर्न अब एक दिनमात्रै समय बाँकी छ । तर पनि गठबन्धनले उम्मेद्वारको टुंगो लगाएको छैन । सत्ता घटकको नेतृत्व गरेको नेपाली काँग्रेस नै आन्तरिक विवादमा रुमलिएपछि भागबण्डा र उम्मेद्वार छनोट थप संकटमा परेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेलाबेला भनिरहने एउटा उखान टुक्का छ, ‘माछा देखे दुलाँभित्र हात, सर्प देखे दुलाँबाहिर हात ।’नेपाली काँग्रेसको संस्थापनइतर पक्षले अहिले ठ्याक्कै उखान जस्तो चरित्र निभाइरहेको छ ।

पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्दै निर्वाचनमा जान संस्थागत निर्णय नै गरेको काँग्रेसमा संस्थापनइतर पक्षको नेतृत्व गरेका शेखर कोइराला र गगन थापासहितका नेताहरु अहिले विपक्षमा छन् । जबकि पार्टीको निर्णयमा उनीहरुले समेत सहमति जनाएका थिए । मुलतः काँग्रेसको हितका लागि कम्युनिष्ट पार्टीसँग तालमेल गर्नै हुन्न भन्ने विचार उनीहरुको छ ।

पार्टीको संस्थागत निर्णयमा सहमति जनाएरै फेरि विरोधमा उत्रिएको शेखर पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाएको छ । गठबन्धनकाबीच महानगर र उपमहानगरमा भएको भागबण्डाबाट समेत यो पक्ष खुशी छैन । जबकि महानगरमा ५० र उपमहानगरमा ६४ गरि सरदर ५८ प्रतिशत भाग काँग्रेसले पाएको छ ।

सबै स्थानीय तहमा भागबण्डा गर्दा ५० प्रतिशत बढी काँग्रेसले पाउनेछ । गत निर्वाचनमा सबै ठाउँ उम्मेद्वारी दिएर पनि भागबण्डा नपुग्दा काँग्रेसभित्रै किचलो मच्चिएको थियो । अहिले सभापति देउवाले ५० प्रतिशतमध्ये शेखर पक्षलाई कति छुट्याउँछन् अझै अनिश्चित छ ।फलतः अहिलेको विरोधसमेत भाग सुरक्षित गराउनकै लागि भएको विश्लेषण भइरहेका छन् ।

गठबन्धनबीच चुनावी तालमेल गरेकै कारण विभाजित बनेको काँग्रेस आन्तरिक भागबण्डाको विषयले झनै चिरा पर्ने संकट उत्पन्न भएको छ ।यो असन्तुष्टिको प्रभाव तत्कालै हुन गइरहेको स्थानीय निर्वाचनमा पर्ने निश्चित जस्तै छ । किनकि चुनावकै मुखमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले धमाधम राजीनामा दिइरहेका छन् ।

आफु वा आफु अनुकुल उम्मेद्वार छनोटमा पार्टीले गठबन्धनको भाँजो हाल्ने काम गरेको भन्दै कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्याग गरेका छन् । जनकपुर उपमहानगरका सभापति मनोज साहले समेत शुक्रबारमात्रै पार्टी परित्याग गरेका छन् । पार्टी मजबुत हुँदाहुँदै पनि जसपालाई भाग दिएको विरोधमा उनीसहित १५० जनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

वीरगञ्ज महानगरमा जसपालाई भाग दिएको प्रति असन्तुष्टि जनाउँदै आफ्नै उम्मेद्वारी उठाउने तयारी स्थानीय नेताले गरेका छन् । केन्द्रको निर्णयप्रति पूर्वउसभापति विमलेन्द्र निधिले समेत आक्रोश व्यक्त गरेका छन् । यस्तो अवस्थामा गठबन्धनका दललाई च्यापेर अघि बढेको काँग्रेसले कस्तो परिणाम ल्याउँछ थप संशयपूर्ण छ ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ‘आफ्नै हात जगन्नाथ’ नगरी शेखरपक्षलाई सम्मानजनक भाग दिए काँग्रेसको विवाद हल हुनसक्छ । किनकि देउवाले भागबण्डामा समेत पेलेरै निर्णय गर्छन कि भन्ने डरले विपक्षीसमूह सशंकित बनेको हो ।

यसको प्रभाव केन्द्रमा मात्रै होइन स्थानीय स्तरका नेता कार्यकर्तामा समेत परेको छ । फलतः विभाजित मानसिकता लिएर चुनावमा होमिएको काँग्रेस नै आशातित परिमाणबाट चुक्ने चुनौती झन बलियो बनेको छ ।