१४ बैशाख २०८१, शुक्रबार

चितवन कांग्रेस सभापतिको कार्यकक्षमा माओवादीलाई मेयर छाडेको भन्दै तालाबन्दी

congress bharatpur

भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् । यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरका थिए ।

त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेललगायतका नेताहरुले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरुले तालाबन्दी गरेका हुन् ।

भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छन् । त्यसका लागि उनले आजै मेयरको पदबाट राजीनामा समेत दिइसकेकी छन् । उनले उपमेयर पार्वती शाह ठकुरीसमक्ष राजीनामा दिएकी हुन् ।

रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद पौडेलले बताएका छन् । जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराईलगायतका नेता कार्यकर्ताको उपस्थिती थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको थियो ।