४ बैशाख २०८१, मंगलवार

उदार आर्थिक प्याकेज ल्याउन राष्ट्रपतिबाट विश्व समुदायलाई अपिल

bidhya 1

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य, शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई बिहीबार भिडियो सन्देशमार्फत सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षासँगै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस सन्दर्भमा कोभिड–१९ महामारीबाट सिकेका महत्वपूर्ण पाठहरू पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालजस्तो विकासोन्मुख मुलुकको आर्थिक पुनरुत्थानका लागि उदार आर्थिक प्याकेज ल्याउन विश्व समुदायलाई अपिल पनि गर्नुभयो । विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीहरूको सामना गर्न राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोग आवश्यक रहेकोमा जोड दिनुहँुदै राष्ट्रपतिले प्रत्येक राष्ट्रको हितमा ‘सिङ्गो क्षेत्र, सिङ्गो विश्व’ को दृष्टिकोणलाई अगाडि बढाउन आह्वान गर्नुभयो ।

जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे पनि चर्चा गर्दै राष्ट्रपतिले विश्व तापमान वृद्धिलाई नियन्त्रणका लागि कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई अक्षरशः कार्यान्वयन गर्न सबै देशलाई आग्रह गर्नुभयो ।

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २० देखि २२ अप्रिल २०२२ सम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा बाहिर ः विश्वव्यापी विकास र साझा भविष्यका लागि सँगै काम गर्ने’ नाराका साथ जारी छ । राष्ट्रपति भण्डारीले फोरममा भएको छलफलले मुलुकलाई महामारीको रोकथाम र नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि पहल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।