१४ बैशाख २०८१, शुक्रबार

चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने तयारी

melamchi 3

मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यकाको चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौँको चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न एक हजार १० किलोमिटर पाइपलाइन बिच्छयाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बिच्छ्याइएका पाइपमध्ये अहिलेसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ । उहाँले भन्नुभयो, “पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । ट्याङ्करको पानीले पुग्दैन । मेलम्चीको पानी आएपछि बाँकी रहेका पाइपको परीक्षण गरिनेछ ।”

त्यसैगरी थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमि सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार याङ्री र लार्के खोलाको पानी वितरण प्रणालीमा जडान भएपछि चक्रपथबाहिरको क्षेत्रमा पाइपलाइन विस्तार गरिने योजना छ ।

सुन्दरीजलमा आएको मेलम्चीको पानी भण्डारण गरी वितरण गरिनेछ । उपत्यकामा १० वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार भक्तपुरको कटुन्जे र तिग्नी, काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण सकिएका छन् । १० वटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् ।

मेलम्चीको पानीलाई सहज र सरल रूपमा उपत्यकावासीको धारासम्म पु-याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली निर्माण गरिरहेको निर्देशक सापकोटाले बताउनुभयो । ‘स्काडा’ अनुगमन प्रणाली जडानका लागि ठेक्कापट्टा भई निर्माण सुरु भइसकेको बताउँदै उहाँले निर्माण कम्पनीले सर्भेको काम सुरु गरिसकेको जानकारी दिनुभयो ।