१६ चैत्र २०८०, शुक्रबार

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गराएरै छाड्छौँ : ओली

kp oli uml
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले देशलाई राम्रोसँग चिनेकाले नै सरकारको नेतृत्वमा रहँदा नेपालको वास्तविक नयाँ नक्सा छापेको र ती भूभागलाई फिर्ता गराएरै छाड्ने बताएका छन् ।

उनले सरकारको नेतृत्वमा रहँदा संविधानको अनुसूचीमा राख्न संसद्‌बाट पारित गराएकाले नेपालको भूमि फिर्ता गर्नका लागि भारत सरकारलाई आफूले पत्र लेखेको र फिर्ता गराएरै छाडिने बताए ।

ललितपुरमा बुधबार आयोजित एमालेको ‘युवासँग म’ कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री भएका बेला नेपाल विकास निर्माणमा हरेक दिन एक कदम अगाडि बढेको उनको भनाइ थियो । उनले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे ।

अध्यक्ष ओलीले अदालतमा राजनीतिक दलका कार्यकर्ता न्यायाधीशका रुपमा लैजान नहुने बताए । सर्वोच्च अदालतसम्बन्धी अन्तरक्रियामा सहभागीले गरेको प्रश्नको जबाफ दिने क्रममा ओलीले न्यायालयको बारेमा आफ्नो धारण राखेका हुन् ।

उनले भने, “न्यायपालिकामा पार्टीका कार्यकर्ता भर्ना गर्ने नै होइन । सामान्यतः भन्ने हो भने मानिस राजनीतिक प्राणी हो भन्ने कुरा २६ सय वर्षअघि प्लेटोले नै भनेका थिए । त्यो कुरा साँचो हो तर राजनीतिक पार्टीमा संलग्न छ कि छैन र कार्यकर्ताको रुपमा ऊ काम गरेको छ कि छैन अथवा त्यस पार्टीको जेसुकै भए पनि त्यसको हित गर्ने अहित चाहिँ नगर्ने र अर्को पार्टीको जेसुकै भए पनि त्यसलाई न्याय नदिने, हित हुन्छ त्यसो गर्दा भनेर ठान्ने व्यक्ति न्यायाधीश भएपछि न्याय मर्छ ।” नेपालका न्यायालयमा अहिले त्यस्तै भइरहेको पनि ओलीको दाबी थियो ।

ओलीले नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङको कडा आलोचना गरेका छन् । अन्तरक्रियामा उनले भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किन्नेलाई महान् बनाएर माओवादीले भोट माग्ने साधन बनाएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत् खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँड्ने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गरे ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोस्ट गरेका थिए । तर, चर्को आलोचनापछि उनले त्यो सामग्री हटाएका थिए ।

“लोडसेडिङको अन्त्य गर्ने महान् भनेर प्रचार गरियो, गफ दिइयो । एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने लोगो बनाएको पनि देखियो । त्यही कर्मचारी आफैँ लाज मानेर फोटो हटाऊ भने,” उनले थपे,“अहिले पनि लोडसेडिङ छ । बोल्दै गर्दा तीन पटक बत्ती जान्छ । चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपौयाँ युनिटमा किन्ने गरिएको छ, ३४ रुपैयाँ प्रतियुनिट घाटामा । यस्ता व्यक्तिको फोटो लिएर भोट माग्न हिँड्ने पार्टीहरु पनि गठबन्धनभित्र छन् ।”

उनले जीवनको विकासका, खोज, अध्ययन र अनुसन्धानका लागि नेपाल अनुकूल भूमि रहेको भन्दै यसको उचित उपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा युवाहरुले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरुको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।