१५ चैत्र २०८०, बिहीबार

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस विहीवार नेपाल आउदै, के के छन् भ्रमणका कार्यक्रम र एजेण्डा ?

who

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयसस विहीवार नेपाल आउनुहुने भएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको आमन्त्रणमा महानिर्देशक डा टेड्रोस नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल भ्रमणमा उहाँले सरकारका उच्च पदस्थ्य अधिकारीहरूलाई भेट्ने बाहेक खोप केन्द्रहरूको पनि प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भारत हुँदै टेड्रोस नेपाल आउन लाग्नुभएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले अघि बढाएको छ ।

नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

महानिर्देशक डा टेड्रोसको भ्रमणले जनस्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय निकायले नेपालप्रति राखेको शुभेच्छा र प्राथमिकता प्रकट गर्ने अधिकारीहरूको विश्वास छ।

उहाँको आसन्न नेपाल भ्रमणमा सरकारले महामारीको पूर्वतयारी सहितका क्षेत्रमा उक्त निकायको सहयोग र समर्थन खोज्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।

डब्ल्यूएचओसँगको नेपालको सहकार्य लामो रहेको भन्दै विज्ञहरूले कोरोनाभाइरसको महामारीबाहेक अन्य जनस्वास्थ्यका क्षेत्रमा नेपालले भोगीरहेका चुनौतीहरू पनि अगाडि राखिनुपर्ने उल्लेख गरेका छन्।