७ बैशाख २०८१, शुक्रबार

शीर्ष नेतृत्वबीच भोलिसम्म देशभरका महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने सहमति

gathabandhan

सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच भोलि (सोमबार)सम्म देशभरका महानगरपालिका र उपमहानगरपालिका उम्मेदवार टुंग्याउने सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

“बिहान ५ दलका नेताहरुको बैठक बसेको छ । कार्यदलको बैठक बसेर छिटो पदहरुको बाँडफाँट गर्ने भन्ने कुराकानी भएको छ,” बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले भने, “आजै कार्यदलको बैठक बसेर यसबारे निर्णय गर्ने छ ।”

उनका अनुसार आजै दिउँसो १ बजे कार्यदलको बैठक बस्ने तय भएको छ ।

कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरिने छ ।

महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भइसके पनि यसमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । कार्यदलले महानगर र उपमहानगरको विषयमा पनि छलफल गरेर शीर्ष नेताहरुलाई जानकारी दिने बताइएको छ ।