७ बैशाख २०८१, शुक्रबार

चितवन आएर कांग्रेस नेता सिंहले भने–‘गठबन्धन जोगाउन भरतपुरको मेयर माओवादीलाई’

Prakashman Singh
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पाँच दलीय गठबन्धन जोगाउनका लागि भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने तयारी गरिएको बताएका छन् ।

नेपालको संविधान जोगाउन केन्द्रस्तरमा गठबन्धन गरिएको स्पष्ट पार्दै सोही आधारमा भरतपुरको मेयर माओवादीलार्इ दिन लागिएको बताएका हुन्।

आज (बिहीबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरागर्दै नेता सिंहले भने–‘अहिलेको अवस्थामा गठबन्धनमा तल माथी गर्न मिल्ने अवस्था छैन, भरतपुर माओवादीलाई दिन पार्टी अगाडि बढेको छ ।’ गठबन्धन भित्रका सबै दलहरु चुनावी तालमेलको लागि लचिलो हुनु पर्नेमा उनले जोड दिए।

महानगर र उपमहानगरपालिकामा कसको उम्मेद्बार हुने भन्ने कुरा केन्द्रले निर्णय गर्ने भएकोले चाँडैनै यस बारेमा टुंगो लाग्ने उनको भनाई थियो । उनले भने, ‘कसले कहाँ उम्मेद्बारी पाउने भन्दा पनि कसरी गठबन्धनलाइ बलियो बनाउन र धेरै स्थानमा विजय गर्न सकिन्छ त्यो महत्त्वपूर्ण कुरा हो।’

भरतपुरको बारेमा जिल्लाका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाइ भेट गरेर एक किसिमको समझदारी बनिसकेकोले विवाद नरहेको उनको भनाइ थियो।