११ जेष्ठ २०७९, बुधबार

को उठ्दा जित्छ उसैलाई उठाउनुपर्छ: तल कुरा मिले तालमेल हुन्छ, नमिले हुँदैन

gagan 2
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानिय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताउनुभएको छ ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताउनुभएको हो ।

उहाँले गठबन्धनका दलहरुका बिचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बिचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफु निर्वाचन लड्ने बताउनुभएको हो । स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उहाँले उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले व्यक्तिगत रुपमा आफु तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताउनुभयो । उहाँले राजनीतिमा गठबन्धनको संस्कृति लोकतन्त्रको दिर्घकालिन हितमा छ कि छैन भन्ने विषयमा भने उचित समयमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छदै छैन । चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो । मत राखेँ । तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु । मान्नुपर्छ । पार्टीमा आवद्ध भइसकेपछि परिवार भन्याजस्तै हो यो । परिवारमा बुबा, आमा, छोरा, छोरी, श्रीमान, श्रीमती हुँदै गर्दा यता घुम्न जाउँ भन्ने मत हुन्छ । यो वर्ष यसमा खर्च गरौँ भन्ने मत हुन्छ । आफ्नो मतमा अरुलाई मनाउने कोसिस गर्छौ । मानेनौ भने कहिलेकाहीँ परिवारको एउटा निर्णयलाई हामी मानेर हिड्छौँ ।

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उहाँको भनाई छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उहाँले बताउनुभयो ।