१६ चैत्र २०८०, शुक्रबार

विप्लव समूह पनि चुनावी मैदानमा, स्वतन्त्र उम्मेदवार घोषणा गर्दै

bhuwan gc

नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्वको नेकपाका नेताहरूले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न वडामा उनीहरूले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका हुन् ।

पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्वतन्त्र रुपले घोषणा गरेको उनीहरूको भनाई छ । नेकपा पाल्पाका जिल्ला पूर्व सचिव भुवन जिसीले तिनाउ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू स्वतन्त्र उम्मेदवार बनेर चुनावमा प्रतिष्पर्धा गर्ने उहाँले बताउनुभयो ।

आफू निकट समूहको बैठक बसाली पार्टीबाट राजीनामा दिएर भए पनि स्थानीय तहको निर्वाचन प्रतिष्पर्धा गर्ने उहाँले बताउनुभयो । उहाँ केही महिना अघिसम्म विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला समिति सचिव रहेर काम गर्नुभएको थियो ।

यस्तै, विप्लव समूहल तिनाउमा २ नम्बर वडाबाट टोपबहादुर विक, ३ नम्बर वडाबाट नीरबहादुर विक र ४ नम्बर वडाबाट गणेश रानासमेत वडाअध्यक्षमा संयुक्त रुपमा स्वतन्त्र उमेदवारी घोषणा गर्नुभएको छ ।

तिनाउको वडा नं. १ र ६ नम्बर वडा अध्यक्षमा आकाङ्क्षीहरू बढेपछि छलफलमा रहेको सो पार्टीका नेताले जनाएका छन् ।