१२ जेष्ठ २०७९, बिहीबार

सुन्दर टापु देश श्रीलंका सानो गल्तीले बर्बाद

shrilanka

एउटा सुन्दर टापु देश श्रीलंका सानो गल्तीले बर्बाद भएको छ । श्रीलंकामा अहिले ठूलो आर्थिक संकट छ । मानिसहरु दैनिक उपभोग्य सामाग्री खरिद गर्न नसकेर समस्यामा छन् । कतिपय सामाग्रीको अभाव छ ।

श्रीलंकाको मुद्रा कमजोर भएर एक डलर बराबर ३१५ श्रीलंकाली रुपियाँमा झरेको छ । इन्धनको संकट छ । विद्युत आपूर्तिमा समस्या भएर दैनिक १३ घन्टाभन्दा बढी लोडसेडिङ छ ।

खानेकुरा र डेरा भाडा तिर्न नसकेर शहरका बासिन्दा गरगहना बेच्न थालेका छन् । हिंसा भड्कन थालेको छ । त्यहाँको सरकारले सुरक्षा कडा बनाएको छ । तर, भोको पेटले छटपटिएका नागरिक राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आगजनी गर्न पुगे । त्यहाँ संकटकाल घोषणा भयो । मन्त्रिमण्डल पूरै परिवर्तन गरियो ।

श्रीलंका दक्षिण एशियाकै नमूना देश थियो । आर्थिक समृद्धि थियो । तर, एकाएक किन यस्तो भयो ? यसका पछाडि कोरोना भाइरसको संकट, पर्यटनमा मन्दी मात्र कारण छैन । श्रीलंका आन्तरिक उत्पादन सुन्य जस्तै अवस्थामा पुग्यो । महत्वाकांक्षी पूर्वाधार विकासका परियोजनाहरु अगाडि सार्यो । त्यो पनि चीनको बीआरआई अन्तर्गतको ऋणमा ।

चर्को ब्याजमा ऋण लिएर उसले बन्दरगाह बनाउन थाल्यो । तर, ऋणको ब्याज समेत तिर्न नसकेर संकटमा पर्दै गयो । घाँटी हेरेर हाँड ननिल्दा श्रीलंकालाई ऋण हड्डी बनेर अड्किएको छ ।

विश्वभर आर्थिक संकट बढ्दा देश श्रीलंकाको हालतमा पुग्ने विषय उठाइन थालिएको छ । नेपालमा पनि त्यस्तै भन्न थालिएको छ ।

कसरी यस्तो भयो
श्रीलंका आफ्नो प्राकृतिक सौन्दर्यका लागि विश्वभर चिनिएको देश हो। तर आज श्रीलंका अकल्पनीय खालको खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ ।

एक वर्षअघि श्रीलंकाको विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरभन्दा बढी थियो तर यो घटेर १ अर्ब डलरभन्दा कममा झरेको छ । श्रीलंका टाटको अवस्थामा पुगिसकेको छ । एक त सामानको भाउले आकाश छोएको छ र दोस्रो, सामान किन्न पसलबाहिर पनि लामो लाइन लाग्ने गरेको छ ।

एक रिपोर्टका अनुसार चीनले श्रीलंकालाई ४.६ अर्ब डलर ऋण दिएको छ । श्रीलंकामा चीनको मात्रै १८ प्रतिशत ऋण रहेको दाबी पनि गरिएको छ । विश्व बैंकको एक प्रतिवेदनमा सन् २०१९ मा श्रीलंकामाथिको ऋण समग्र राष्ट्रिय आयको ६९ प्रतिशत पुगेको उल्लेख छ । यो सोचनीय छ कि २०१० मा यो केवल ३९ प्रतिशत थियो।

श्रीलंकाको दुर्दशाको पछाडि त्यहाँको सरकारले जारी गरेको एक आदेशको पनि ठूलो भूमिका छ । श्रीलंका सरकारले अर्गानिक खेती गरेर अर्गानिक बाली लगाउने घोषणा गर्यो । यो घोषणापछि श्रीलंकामा विषादी र मलमा प्रतिबन्ध लगाइयो। त्यसमाथि चीनले गुणस्तरहीन जैविक मल पठायो।फलफूल र बाली किराले खायो र मलको अभावले उत्पादनमा ह्रास आयो । त्यसको माथि श्रीलंकाले पनि विदेशबाट पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।

एकातर्फ श्रीलंकाले आफ्नो आवश्यकता अनुसार पनि बाली उत्पादन गर्न सकेन र अर्को तर्फ विदेशबाट पाम तेल आयातमा प्रतिबन्ध लगाइएको थियो। जसका कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मुद्रास्फीति आकाशमा पुगेको छ ।

त्यहाँको सरकारले अहिले भारतसँग पनि सहयोग मागेको छ र भारतले पनि सहयोग गरिरहेको छ । खराब आर्थिक अवस्थाबाट बाहिर निस्कन र जनतालाई सहयोग गर्न सरकारले अरबौं डलरको राहत प्याकेज पनि घोषणा गरेको छ । भारतले थप सहयोगको घोषणा गरेको छ ।

श्रीलंकाको भौगोलिक अवस्थितिले हिन्द महासागरमा यसलाई रणनीतिक महत्व दिन्छ र यसै कारणले चीनले चासो बढाएको छ । पहिले श्रीलंका चीनको ऋणको परेको थियो । व्यापारिक रणनीतिमा चतुर चिनियाँहरुले स्रोतमाथि प्रभाव बनाउन खोजेको विश्लेषण भइरहेको छ । यसलाई बुझेर श्रीलंका पछिल्लो समय चीनबाट टाढिन थालेको छ । तर, त्यो धेरै ढिलो भइसकेको छ ।