१४ बैशाख २०८१, शुक्रबार

थलापति विजयसँग फिल्म खेल्दै रश्मिका

thalapathy vijay and rashmika mandanna

मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी रश्मिका फिल्म ‘डियर कमरेड’ हुँदै ‘पुष्पा’बाट चौतर्फी फ्यान बटुल्न सफल दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनी साउथ फिल्ममा महंगो पारिश्रमिक लिने अभिनेत्री पनि हुन्।

यस्तै दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार हुन् थलापति विजय। विजयको सक्कली नाम जोसफ विजय चन्द्रशेखर हो । फिल्मी दुनियामा उनी थलापति विजयको नामबाट परिचित छन् । विजयले फिल्म करिअरमा थुप्रै रेकर्ड राखेका छन् । विजय सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् ।

अब यी दुवै नयाँ फिल्ममा सँगै देखिने भएका छन्। फिल्मको नाम फाइनल त गरिएको छैन तर हाललाई ‘थलापति ६६’ राखिएको बताइएको छ।

केही दिनअघि चेन्नाईमा फिल्मको मुहुर्त गरिएको थियो। मुहुर्त समारोहका केही तस्बिरहरू रश्मिकाले आफ्नै इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन्। तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘छुट्टै महसुस भइरहेको छ। विजय सरलाई वर्षौँदेखि हेर्दै आएकी हुँ। अब गर्न मन लागेका सबै कुराहरू गर्न पाउँदैछु। उहाँसँग अभिनय गर्न, नाच्न, नजर जुधाउन, बोल्न सबैथोक। एकदम खुशी।’

फिल्म डियर कमरेडले फ्यानमाझ छुट्टै पहिचान बनाउन सफल रश्मिकाको जीवनमा पुष्पा फिल्म बरदान नै सावित भयो। रश्मिका बलिउडमा पनि डेब्यु गर्न लागेकी छन्। उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनु’मा देखिन लागेकी हुन्। यसैगरी अमिताभ बच्चनका साथ ‘गुडबाय’मा पनि देखिने भएकी छन्।

यता विजयको पनि फिल्म ‘बिष्ट’ यही अप्रिल १३ मा रिलिज हुँदैछ। बिस्टमा विजयको अपोजिटमा पूजा हेगडे छिन्।