७ बैशाख २०८१, शुक्रबार

घेराबन्दीको शिकार बनेका ओली आफैँ माझी बनेर जाल हान्ने तयारीमा !

gathbandan vs uml

सत्तामा रहेका पाँच दल गठबन्धनमा रहेर स्थानीयदेखि संघीय तहसम्मका चुनावबाट आफ्नो सत्ता जारी राख्न चाहन्छन । प्रमुख विपक्षी एमाले सकेसम्म यसलाई भत्काउने र चोइट्याउने नीति अख्तियार गरिरहेको छ । मुलतः गठबन्धनका गलत क्रियाकलाप एमालेका हतियार बनेका छन् ।

हिजोसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्दा आनन्द आउँथ्यो, जाँचेर हेर्दा खल्लो लाग्थ्यो । किनकि ओलीका भाषणमा न ओज थियो, न एजेन्डा र तथ्यसहितको तर्क थियो । तर अहिले सत्ता गठबन्धनको नालायकीले ओलीले एजेन्डा पाएका छन् । विपक्षीको खेदो खन्न चुनावी नारा पाएका छन् । र त्यसैलाई हतियार बनाएर चुनाव जित्ने एजेन्डा बनाएका छन् ।

ओली नेतृत्वको सरकार ढल्ने चर्चा हुँदा नै सत्तामात्रै धर्मराएको थिएन, अर्थतन्त्रसमेत त्यतिबेलै धर्मराउन सुरु गरेको थियो । किनकि त्यतिबेला ओलीले लिएको अर्थ नीतिसमेत सन्तोषजनक थिएन । तर नौ महिनाअघि ओलीभन्दा राम्रो गर्छौ भन्दै सरकार ढालेर देश सम्हाल्न आएका सत्ताधारीहरुले त्यसलाई उठाउने काम गरेनन्, बरु दिनानुदिन अवस्था झनै नाजुक बन्दै गएपछि संकटग्रस्त अवस्थामा अर्थतन्त्र छ । र ओलीले अहिले आलोचना गर्ने सजिलो मुद्दा पाएका छन् ।

गठबन्धनका क्रियाकलापले नागरिकमा बढ्दो निराशाको फाइदा ओलीले लिन खोजिरहेका छन् । सत्तारुढ दलबीच चुनावी तालमेल भएपछि विच्किएका कार्यकर्तासमेत ओलीको प्राथमिकतामा परेका छन् । यसले आफुलाई चुनावमा मद्दत मिल्ने ओलीको बुझाई छ ।

त्यतिमात्रै नभएर मंहगी र अनियमिता जस्ता विषयमा भातृ संगठनलाई सडकमा ओरालेका छन् । आर्थिक अवस्थाका विषयमा सरकारले पहल थाल्नुपर्ने हो, तर ओलीले गठबन्धनभन्दा पहिल्यै अन्तरक्रिया चलाएर समाधान खोजिरहेका छन् ।

यसले नागरिकको मन जित्न भूमिका खेल्नेमा ओली चनाखो बनेका छन् । मुलतः पाँच दलीय घेराबन्दीको शिकार बनेका ओली आफैँ माझी बनेर जाल हान्ने तयारीमा छन् । तर बलियो विरासत र हल्लीएको वर्तमानमा उभिएका ओलीलाई आफैलाई सम्हानु मुख्य चुनौती बनेको छ ।