१३ बैशाख २०८१, बिहीबार

आफ्नो गल्ती ढाक छोप गर्न गभर्नरमाथि अर्थमन्त्रीको प्रहार

yubraj khatiwada

राजनीतिक दाउपेचकै कारण हठातमा राष्ट्र बैकका गर्भनर हटाईएपछि यतिबेला सरकार आलोचनाको सिकार बनिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको र आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको भन्दै आपत्तिसमेत जनायो ।

देशको अर्थतन्त्र डामाडोल बनिरहेको अवस्थामा एकाएक राजनीतिक दाउपेचकै कारण राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी हटाईएपछि यतिबेला सरकार आलोचनाको सिकार बनिरहेको छ । अर्थतन्त्र संकटमा परेका बेला महत्वपूर्ण कदम चाल्नुको सट्टा सरकारले एकाएक गर्भनर महाप्रसाद अधिकारीलाई हटाएपछि चौतर्फि आलोचना भईरहेको हो ।

नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने काम गलत गरेको बताए । सरकारले गभर्नरलाई निलम्बन गरेर गलत अभ्यास गरेको भन्दै पौडेलले यो कदम तत्काल नसच्याए अर्थतन्त्र धराशायी र यसबाट गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् । आफू अर्थमन्त्री हुँदा ल्याएको लोकप्रिय बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन बिधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको उनले दाबी गरे ।

त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना महामारी पछि रुस र युक्रेनको युद्धको कारण अर्थतन्त्रमा थपिएको चुनौतीका बीचमा सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गरेर गलत काम गरेको बताए । पाण्डेले अब बजेट निर्माण तथा मौद्रिक नीति बनाउनु पर्ने अवस्थामा गभर्नरलाई बाहिर राख्ने काम भएको बताए ।

सरकार अहिले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने भन्दा पनि गभर्नर निलम्बन गर्ने काम संकात्मक रहेको पाण्डेको बुझाई छ । पछिल्लो समय श्रीलंकाको अर्थमन्त्री भाग्ने अवस्था आएको भन्दै नेपालका अर्थमन्त्री पनि भाग्नु पर्ने अवस्था देखिएको पाण्डेले बताए ।

त्यस्तै पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा.युवराज खतिवडाले नेपाली काङग्रेसको सरकारले गभर्नर माथिको पूर्वग्राही कारबाही गैरकानुनी हुने भनेर कहिल्यै पनि ख्याल नगरेको आरोप लगाए । उनले गभर्नरले निकै ठूलो अक्षम्य अपराध नगरेसम्म गनर्भरलाई कुनै कारबाही नहुने दाबी गरे ।

पूर्व अर्थमन्त्री खतिवडाले वित्तीय अपचलन गर्न नपाएको निहीतस्वार्थ समूहको स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा गठबन्धबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो अपराध ढाक्न खोजिएको दाबी गरे ।

गठबन्धन सरकारले सबैसँग अर्थतन्त्रको विषयमा छलफल गर्नु पर्ने अवस्थामा आफ्नो नालायकिपन छोप्न गभर्नरलाई निलम्बन गरेको भन्दै यतिबेला चौतर्फि आलोचना भईरहेको छ । यतिमात्रै अराजक अर्थमन्त्रीको प्रभावमा प्रधानमन्त्रीले गलत नीति लिएको भन्दै आलोचनाको सिकार बन्नुपरेको छ ।

केपी शर्मा ओलीको सरकारकै पालामा धमेलिएको नेपालको अर्थतन्त्र अहिले डामाडोलको स्थितिमा पुगेको छ । यद्यपि राजनीतिक दलहरु भने निकासको सट्टा आरोप प्रत्यारोप र चुनावी चटारोमा व्यस्त बनिरहेका छन् । जसले नेपालको अर्थतन्त्रलाई श्रीलंकाली हालतमा पुर्याउँने भन्दै अर्थविद्हरुले चेतावनी दिईरहेका छन् ।