८ बैशाख २०८१, शनिबार

महँगी नियन्त्रण गर्न श्रीलंकाले दोब्बर बनायो ब्याजदर

srilankaCentralBank

श्रीलंकाको केन्द्रीय बैंकले प्रमुख ब्याजदर अकल्पनीय स्तरमा बढाएको छ । बैंकले शुक्रवार मुद्रस्फीति नियन्त्रण गर्न ब्याजदर ७ प्रतिशतले बढाएर १४ दशमलव ५ प्रतिशतमा पुरयाएको हो ।

एक महीनाको अवधिमा अमेरिकी डलरको तुलनामा श्रीलंकाली मुद्रा रुपीको भाउ ३५ प्रतिशत घटेकै समयमा बैंकले यो अप्रत्याशित कदम चालेको हो । यो कदमले रुपीको भाउ स्थीर हुने अपेक्षा गरेको बैंकका नवनियुक्त गभर्नर नन्दलाल विरासिंघेले बताएका छन् । बैंकले निक्षेप दर पनि ७ प्रतिशतले नै बढाएर साढे १३ प्रतिशतमा ल्याएको छ ।

पछिल्लो समय उत्पन्न चरम आर्थिक संकटबीच आधारभूत वस्तुकै अभाव चुलिएको समयमा यस्तो कदम चालिएको हो । मार्चमा श्रीलंकामा महँगी १८ दशमलव ७ प्रतिशतले बढेको केन्द्र बैंकको आँकडाले देखाएको छ । खानपिनको सामानको भाउ २५ प्रतिशतभन्दा धेरैले बढेका थिए । सो अवधिमा महँगी ५० प्रतिशत रहेको हुन सक्ने निजी क्षेत्रले अनुमान गरेको छ ।

अहिले श्रीलंकाको विदेशी विनिमय सञ्चिति घटेर १ अर्ब डलरभन्दा तल झरेको छ । गोताबाया राजापाक्ष नेतृत्वको सरकारलाई आम जनताको दैनिक आधारभूत आवश्यकता पूरा गर्न नै सकस भइरहेको छ । विदेशी विनिमय सञ्चितिको चरम अभावबीच खाद्यान्न, इन्धन, ऊर्जा र ग्यासको चरम अभाव छ ।

पछिल्लो संकट समाधान गर्न सरकारले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्ता गर्ने तयारी गरिरहेको छ भने मित्र देशहरुसँग आर्थिक सहायता पनि मागिरहेको छ ।

वित्तीय अव्यवस्थापन, गलत समयमा गरिएको कर कटौतीकाकारण श्रीलंकाली अर्थतन्त्रले यस अघि कहिले नदेखिएको आर्थिक संकटको सामना गरेको हो । वर्षौसम्म सरकारले अन्तरराष्ट्रिय वित्त बजारबाट जथाभावी कर्जा उठाएको अनि विदेशी विनिमय सन्तुलित राख्न नसक्दाको परिणति अहिले सम्पूर्ण जनताले चुकाइरहेका छन् । एजेन्सी