१३ बैशाख २०८१, बिहीबार

प्रभाव बढाउँदै अर्थमन्त्री शर्मा सरकार र पार्टीभित्र !

Janardan Sharma Artha mantr 2
फाइल फोटो

यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा सबैभन्दा बढी आलोचित हुनुहुन्छ ।

उद्योगी व्यवसायीदेखि अर्थतन्त्रका जानकारसम्मले अर्थमन्त्री शर्माको आलोचना गर्दै आएका छन् । तर, उहाँ सरकार र पार्टीभित्रै पनि प्रभावी बन्दै जानुभएको छ । आफ्नो पार्टी माओवादी केन्द्रका अध्यक्ष मात्र होइन, प्रधानमन्त्री देउवालाई पनि रिझाउन शर्मा सफल बन्नुभएको छ ।

द्वन्द्वकालमा माओवादी अध्यक्ष प्रचण्डको बलियो सारथी रहेका शर्मा अहिले पुनः प्रचण्डको विश्वासपात्रका रुपमा देखिनुभएको छ । प्रचण्डका अर्का विश्वासपात्र वर्षमान पुन अर्थमन्त्री बन्ने चर्चाकाबीच शर्माले देउवा नेतृत्वको सरकारको अर्थमन्त्रालय हात पार्नुभयो ।

उसो त, अर्थमन्त्रालय कांग्रेस स्वयं आफ्नो भागमा राख्न चाहन्थ्यो । तर, सत्तागठबन्धनका कारण माओवादी केन्द्रको भागमा परेको अर्थमन्त्रालयमा शर्माले अर्थमन्त्रीका रुपमा विवादमा नपरी विदा भएका पुनलाई पछि पार्नुभयो । देशको अर्थतन्त्र खस्कँदै जाँदा अर्थतन्त्रका जानकारदेखि व्यवसायी र राजनीतिक दलभित्रैबाट अर्थमन्त्री शर्मालाई हटाउनुपर्ने आवाज उठ्यो ।

माओवादी अध्यक्ष प्रचण्डले अर्थमन्त्री हटाउनुपर्ने दबाब बढेपपछि छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने पनि बताउनुभएको थियो । तर, शर्मा अझै अर्थमन्त्रीकै रुपमा छन् । अर्थमन्त्रालय चलाउन नसकेको आलोचना खेपिरहेका शर्मा अहिले नयाँ विवादमा तानिन पुग्नुभयो ।

आफ्नो टाउकोमा आएको जिम्मेवारी पन्छाउन उहाँले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिदिनुभयो । स्रोतमाथि शंका गरिएको ४० करोड रुपैयाँ फुकुवा गरिदिन शर्माले पठाएको पत्र कार्यान्वयन नभएपछि गभर्नरलाई कारवाही गरेको भन्दै अहिले आलोचना भइरहेको छ ।

तर, के संयुक्त सरकारका अर्थमन्त्री शर्माले चाहेर मात्र गभर्नरलाई हटाउने निर्णयमा पुग्नुभएको हो त रु अर्थमामिलाका जानकारहरु यसमा अर्थमन्त्रीले प्रधानमन्त्री देउवालाई समेत सहमत बनाएरै अधिकारीलाई निलम्बन गरिएको बताउँछन् ।

अहिलेको मन्त्रिपरिषदमा काम गर्न नसकेको भन्दै सबैभन्दा धेरै आलोचना शर्माकै भएको छ । कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकमा समेत अर्थमन्त्री शर्मालाई हटाउने विषय उठेको थियो । तर, देउवाले शर्माको विकल्प त खोज्नुभएन नै गभर्नर निलम्बन गर्ने शर्माको योजनामा सहमति जनाउनुभयो । शर्मा भने अहिले आफ्नो बचाउको प्रयासमा हुनुहुन्छ ।

शर्माले अहिले प्रधानमन्त्रीको विश्वास जित्न सक्नु र पार्टी अध्यक्ष प्रचण्डलाई विश्वासमा लिनसक्नुले पनि मन्त्रिपरिषदमाशर्माको बलियो प्रभाव रहेको प्रष्ट हुन्छ । देशको अर्थतन्त्र खस्कँदै जाने तर स्रोतमै शंका गरिएको रकम फुकुवा गर्ने जस्ता गलत निर्देशन दिने अर्थमन्त्री सरकारमा प्रभावशाली बन्दै जाने हो भने देशको अर्थतन्त्रको हालत के होला ?