१३ बैशाख २०८१, बिहीबार

माओवादी अध्यक्ष प्रचण्ड चितवनतिर, कांग्रेसका जिल्ला नेता काठमाडौंतिर

prac

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चिवतन दौडधुप बढेको छ ।

उहाँ स–साना कार्यक्रमलाई सम्बोधन गर्न समेत चितवन पुग्न थाल्नुभएको छ । सातामा कम्तीमा दुई पटक गृहजिल्ला पुग्ने उहाँको दौडधुप निर्वाचन केन्द्रित छ ।

निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले दाहालको चितवन आउजाउ बाक्लो भएको हो ।

तर, उहाँको यो योजना असफल पार्न नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ ।

चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आउनुभएको छ । उहाँहरुको दौडधुप भने काठमाडौं केन्द्रित छ ।

गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी दिएका छन् ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति श्रेष्ठले बताउनुभयो ।

चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो । हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृड अडानमा कांग्रेस छ । जुन माओवादी केन्द्रका अध्यक्ष दाहालको चाहनाविपरीत देखिएको छ ।