१६ चैत्र २०८०, शुक्रबार

निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ : बाबुराम भट्टराई

Dr. baburam bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्रः वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताए ।

उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्ले गरिए पनि नसकिएको बताए । “राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क दिनुपर्दछ भनेर हामीले नै संविधानमा राखेका छौँ,” उनले भने,“तर, अहिले व्यवहारतः कार्यान्वयन गर्न सकिएको छैन । आगामी आर्थिक वर्षमा बजेटको आकार बढाएर स्वास्थ्य सेवा निःशुल्क गराउनतर्फ लाग्नुपर्दछ ।”

उनले राज्यबाट सञ्चालित रहेका स्वास्थ्य संस्थालाई बलियो बनाइ जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने धारण राखे । उनले स्वास्थ्य र शिक्षालाई मुनाफारहित बनाउनुपर्ने भन्दै निजी क्षेत्रको स्वास्थ्य सेवालाई कडाइका साथ अनुगमन गर्नुपर्ने बताए ।

“स्वास्थ्य र शिक्षामा मुनाफा हुनुहुँदैन,” उनले भने,“निजी क्षेत्रलाई खुला छाड्नुहुँदैन । कडाइकासाथ अनुगमन गर्नुपर्दछ ।” एक वडा एक चिकित्सक राख्न सके स्वास्थ्यलाई सर्वसुलभ बनाउन सकिने उनको भनाइ थियो ।