१५ बैशाख २०८१, शनिबार

एक महिना नवित्दै माओवादीको अर्को निर्वाचन पोखरा महानगरमा

pokhara maoist

अधिवेशन तोकिएको समयभन्दा तीन महिना ढिलो गरी फागुन १९ गते माओवादी केन्द्रले पोखरा महानगरमा नयाँ कमिटी गठन गर्‍यो । हरिनारायण गिरी (विज्ञान)को अध्यक्षतामा गठित समितिलाई एक पक्षले समर्थन गरे पनि अर्को पक्षले वैधानिकता दिएन ।

उक्त समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुगांना र हर्कमान बिक चयन भएका थिए । सचिवमा जनक पराजुली, सहसचिवमा विमला पहारी र कोषाध्यक्षमा सूर्यराज तिवारी सर्वसम्मत निर्वाचित भएका थिए ।

उक्त समितिलाई जिल्लाभित्र कास्कीका इन्चार्ज तथा केन्द्रीय सदस्य राजकाजी गुरुङ समूहले स्वीकार गरेको थिएन । तत्कालीन निर्वाचन प्रक्रियाप्रति असहमति जनाएको टोलीले पुनः निर्वाचनको माग गरेको थियो ।

शुक्रबार एक महिनापछि पुनः अर्को कमिटी गठन भएको छ । पहिलेकै अध्यक्ष विज्ञानको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । गिरीले ३९ मत ल्याउँदा उनको निकतम प्रतिस्पर्धी शिवजी लामिछानेले ३७ मत मात्रै पाए ।

अहिलेको कमिटीको उपाध्यक्षमा भानुभक्त अधिकारी र हर्कमान विक दोहोरिएका छन् । पुष्प अधिकारीलाई विमला पहारीले रिप्लेस गरेकी छन् ।

विमला यसअघि सहसचिवमा निर्वाचित भएकी थिइन् । उपाध्यक्षमा हर्कमानले ४५, भानुभक्तले ४३ र विमलाले ४२ मत पाए । निकटतम प्रतिस्पर्धी लक्ष्मीप्रसाद सुवेदीले २७ र हरि भण्डारीले ४० मत पाएका थिए ।

सचिवमा सचिव जनक पराजुली नै दोहोरिएका छन् । पराजुलीले ४० मत पाउँदा प्रतिस्पर्धी विपिन आचार्यले ३६ भोट पाए ।

यस्तै सहसचिवमा ईश्वरी लम्साल तथा कोषाध्यक्षमा बुद्धिमाया गुरुङलाई निर्वाचित गरिएको छ । लम्सालले ४५ मत ल्याएका हुन् भने प्रतिस्पर्धी सविन जिसीको ३१ मत छ ।

कोषाध्यक्षमा गुरुङको ३९ मत आउँदा निकटतम प्रतिस्पर्धी सूर्यप्रसाद तिवारीको ३४ भोट आएको निर्वाचन अधिकृत वेदनाथ भण्डारीले जानकारी दिए ।