१२ जेष्ठ २०७९, बिहीबार

एमालेकै चुनाव चिन्ह लिएर उठ्ने तयारी छ : कमल थापा

kamal
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताउनुभयो । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

उहाँले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताउनुभयो ।

अध्यक्ष थापाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो । उहाँले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गर्नुभयो ।