१२ बैशाख २०८१, बुधबार

राप्ती नगरपालिकामा गठबन्धन भन्दा एमाले बलियो, एकीकृत समाजवादीको प्रभाव कति ? (२०७४ को मतसहित)

three party

अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकामा एमालेलाई त्यति कसरत गर्नु परेको थिएन् । नेकपा (एमाले)की प्रभा बरालले नेपाली कांग्रेसका किरण भूषण ओलीलाई ४ हजार ३२० मतको फराकिलो अन्तरले पराजित गरेकी थिईन् ।

दलीयरूपमा सबैभन्दा बढी वडा जितेको नेकपा एमालेले प्रमुख र उपप्रमुख पद पनि जितेको थियो । राप्ती १३ वडामध्ये ११ वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका थिए । एमालेलाई पछ्याएको कांग्रेसले २ वटामा वडाध्यक्ष जितेको थियो । तेस्रो शक्तिको रुपमा उदाएको माओवादीले एक सदस्य पद पनि जित्न सकेन । अन्य पार्टीको मत झिनो छ । चौथो शक्तिको रुपमा रहेको राप्रपाको मेयर पदमा ३३५ मत आएको थियो ।

राप्ती विगत देखिनै एमालेको पकेट क्षेत्रका रुपमा हेरिन्छ । २०४६ सालदेखि एमाले विजयी हुँदै आएको छ । एमाले विगतको विरासत जोगाउने दाऊमा अहिले पनि छ । तर, एमालेले सोचेजस्तो सजिलो भने छैन । पार्टी फुटको असर पक्कै देखिन्छ । यहाँ एक वडाध्यक्ष र एक वडासदस्य गरि दुई जना जनप्रतिनिधिले एमाले छोडिसकेका छन् । उनिहरु एकीकृत समाजबादीमा लागेका कारण त्यसको केही प्रभाव पर्ने देखिन्छ ।

एमालेका लागि राप्तीमा चुनौती भनेको सत्तारुढ दलहरूको गठबन्धन नै हो । त्यो गठबन्धन बनेको अवस्थामा नेकपा(एस)ले लैजाने भोटलाई तान्नुपर्ने देखिन्छ । भने नयाँ थपिएका मतदाताको बहुँसंख्यक मत पनि एमालेले तान्नुपर्ने देखिन्छ । नभए विगतको बिरासत जोगाउन कठिन हुन सक्छ । राप्तीमा कांग्रेसलाई पनि कम आंकलन गर्न सकिँदैन । अघिल्लो निर्वाचनमा कांग्रेसका उमेद्वार किरण भूषण ओलीले ७ हजार २९३ मत ल्याएका थिए । कांग्रेसकाबाट उमेद्वार दिएका वडाध्यक्षको मत पनि ७ हजार ३३६ छ । यसरी हेर्दा कांग्रेसको खाटी मत राप्तीमा ७ हजारको हाराहारी रहेको देखिन्छ ।

त्यसो त एमालेकी प्रभा बरालले ११ हजार ६१६ भोट प्राप्त गरेकी थिइन् । एमालेका वडाध्यक्षहरुको समग्र जोड्दा पनि खासै फरक छैन । त्यहाँ एमालेका वडा अध्यक्षहरुको ११ हजार ५६६ मत रहेको थियो । यसरी हेर्दा पनि राप्तीमा एमाले बलियो नै छ । तर, माओवादीको भोट पनि गठबन्धनमा जोडिन पुग्छ । अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार रामचन्द्र पाठकले २ हजार ४९५ मत ल्याएका थिए ।

उप–प्रमुखमा एमालेकै इमानसिंह मुक्तान ११ हजार ८८२ मत ल्याएर विजयी भएका थिए । दोस्रोमा कांग्रेसकी उमेद्वार अनिता मैनालीले ७ हजार ७४, तेस्रोमा नेकपा (माओवादी केन्द्र)की कल्पना मोक्तानले २ हजार २२६ र चौथोमा राप्रपाकी शेषमणी बर्तौलाले ६२७ मत प्राप्त गरेकी थिईन् । प्रमुख र उप–प्रमुख जितेको एमालेले १, २, ३, ४, ५, ६, ७, ८, १०, ११ र १३ नम्बर वडा गरि ११ वटा वडा जितेको थियो । प्रमुख र उप–प्रमुखमा पराजित भएको नेपाली कांग्रेसले ९ र १२ वडा गरि २ वटा वडा जितेको थियो । राप्तीमा माओवादीले एक जना वडा सदस्य पनि जित्न सकेको थिएनन् ।

२०७४ सालको निर्वाचनको मत परिणामलाई हेर्दा सत्तारुढ दलबीच गठबन्धन भएपनि एमाले नै बलियो देखिन्छ । मेयर पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उमेद्वारले ल्याएको मत जोड्दा ९ हजार ७८८ हुन्छ । यति हुँदा पनि राप्तीमा १ हजार ८२५ मतका साथ एमाले अगाडी नै छ । यहाँ एमालेकी उमेद्वार बरालले ११ हजार ६१३ मत ल्याएकी थिईन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा राप्तीमा सत्तारुढ दलको गठबन्धन र एमाले बिच नै प्रतिस्पर्धा हुने देखिन्छ । किन कि सत्तारुढ दलले चुनावी तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा मतको हिसाबले नेपाली कांग्रेसले नै मेयर पदमा टिकट पाउने देखिन्छ । तर, कांग्रेस र कम्युनिष्टमा सिद्धान्त नै फरक भएकाले गठबन्धनमा पूरै भोट नखस्न पनि सक्छ । त्यसको फाइदा एमालेले लिन सक्यो र नयाँ मतदातालाई आफुतिर प्रभावित पार्न सक्यो भने एमालेले बाजी मार्ने पनि देखिन्छ ।
तर, ४० हजार मतदाता पुगेको राप्तीमा एमालेलाई पनि चुनौती कायमै देखिन्छ । नयाँ थपिएका १० हजार ६५१ मतदाताले कस्लाई आफ्नो मताधिकार प्रयोग गर्दछन् । केही थाहा छैन । पुराना मतदाताले सधै एउटै चिन्हमा मतदान गर्छन् भन्ने हुँदैन । व्यक्ति हेरेर भोट हाल्नेको संख्या पनि धेरै नै हुन्छ ।

गठबन्धनले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउँदै नयाँ मतदातालाई प्रभावमा राख्न सक्यो भने जित्ने आधार देखिन्छ । ठुलो संख्यामा थपिएका मतदाताको भोट कता जान्छ स्पष्ट छैन । पाँच बर्षको अवधिमा राजनीतिमा ठुलै परिर्वतन हुने गर्दछ । पूरानै मतदाताको पनि मत कता जान्छ भन्ने सक्ने अवस्था छैन । तर, चितवनको अन्य पालिकामा जस्तो राप्तीमा कमजोर छैन । अघिल्लो निर्वाचनको नतिजा हेर्दा गठबन्धनको भन्दा बढी मत एमालेको नै देखिन्छ । तर, एमालेलाई आफ्नो साख जोगाउन भने त्यति सजिलो देखिदैन ।