१३ बैशाख २०८१, बिहीबार

अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? ?

rrr nepal

नेपाल अब श्रीलंका जस्तै त हुने होईन ? ?
बिहानको चियाको सर्कोमा ठोकुवा गर्नेहरु भन्छन “अब नेपाल श्रीलंका हुन्छ, हेर्दै जाउ न” ? ?

शनिबार बिहान मैले सुनेको आजकलको समसामयिक विषय यही थियो । छेउमा शुक्रबार मात्र हलमा लागेको राजामौलिको “RRR” हेर्न आएका युवा युवतीको भिड पनि उतिकै थियो ।

स्थानिय चुनाव आउँदै गर्दा टोल विकास र स्थानिय विकासको कुरा दोस्रो स्थानमा ओर्लिएछ ।

“देश विकासको निकास,आत्मनिर्भरता को विकास” यो नारा लामो समय देखि हाम्रा देशका उच्च अहोदामा बसेका नेतृत्वको मुखार बिन्दुबाट आउने घुराई हो । जतिसुकै नारा लगाए पनि र जतिसुकै भाषण भजाए पनि ब्यवहारमा भने कुनैपनि तह र तप्काबाट सिन्को भाचेको देखिँदैन ।

विगत ६ महिना देखि देशको अर्थतन्त्र कुम्भकर्ण जस्तै लामो निद्रामा विलय भएको छ । यसलाई उठाई चलायमान बनाउन सम्बन्धित जिम्मेवार ब्यत्तिहरुले पहल र प्रयास गरिएको खासै देखिदैन । यही अबस्थामा हरेक क्षेत्र समस्याग्रस्त रहेको देख्न सकिन्छ छ । चाहे ब्यवसायी, चाहे कर्मचारी, सर्वसाधारणको त कुरै नगरौ कोही कसैको पनि मुहारमा खुशी भनेको यती कै कथा भएको छ ।

हरेक नेपाली नागरिकको मस्तिष्कमा नकारात्मक धारणाले जग गाड्न थालिसकेको छ । अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउने जिम्मेवार पहिलो ब्यक्ति अर्थमन्त्री र गर्भनरको बोलचाल नभएको पनि महिनौं भईसकेको रहेछ ।

अर्थतन्त्रलाई सुदृढ गर्नकोलागी विभिन्न किसिमका आयातहरुमा कडाई गर्ने कार्यको वहस र सुरुवात भईरहेको छ । तर बन्द गर्ने बेलामा पहिलेनै बन्द हुने अनि अन्त्यमा खुल्ने मनोरन्जन क्षेत्रको बारेमा केहि सुन्निन ।

कोरोना महामारीले २ बर्षदेखि थलिएर अरबौं लगानी फ्रिज भएर बसेको नेपाली सिनेमा क्षेत्र भर्खर मात्र चलायमान हुन खोज्दै थियो । आशाका मुनाहरु पलाउने तरखरमा थिए,तर बिदेशी सिनेमाहरु नेपाल भित्र्याएर एउटै सिनेमाबाट करोडौं रकम विदेश पठाईन्छ ।

एउटा सिनेमालाई भा.रु.३ करोड २० लाख (लगभग ४ लाख २६ हजार डलर) तिरेर नेपाल ल्याईएको समाचार छ । एक महिनामा नै ८-१० वटा सम्म विदेशी फिल्म प्रर्दशन हुँदै करोडौं रकम विदेश पठाउने कार्यलाई रोक्न सके नेपाली मनोरन्जन क्षेत्रलाई केहि टेवा पुग्थ्यो होला । दैनिक उपभोग्य सामाग्रीको आयातमा पुर्ण रुपमा कडाई गर्न गाह्रो होला तर विदेशी फिल्म आयातमा पुर्ण रुपमा बन्देज गर्दा देश र जनतालाई कुनैपनि हानि हुनेछैन ।

त्यसैले हरेक सचेत नेपालीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै “विदेशी सिनेमा बहिष्कार,नेपाली सिनेमा स्वीकार” भन्ने अभियान चलाउँदा देश र देशको मनोरन्जन क्षेत्र दुवै बलिया हुँदै जान्छन ।

नेपाली चलचित्रलाई स्वीकार गर्नु अहिलेको अर्थतन्त्रको सवालको कुरा मात्र होईन । यसले विश्वमा नै सबैभन्दा फरक र पृथक हामी नेपालीको मौलिक कला,संस्कृती,साहित्य र पर्यटनको संरक्षण तथा जर्गेना पनि हुनु हो ।

अहिलेको अबस्था र भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नको लागि अब हामी आम सचेत नेपालीले सोच्न पर्ने अबस्था आएको छ । बैदेशिक आयातलाई रोक्न हरेक सचेत नेपालीले आ आफ्नो तह र तप्काबाट महत्वपुर्ण भुमिका खेल्नु पर्ने देखिएको छ ।

दैनिक उपभोग्य र विलासिताका सामाग्रीहरुलाई के कसरी कम गर्न सकिन्छ र आफ्नो परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरु आफ्नै ठाउँमा कसरी उत्पादन गर्न र आत्मनिर्भरता बढाउन सकिन्छ भनी सबै नागरिकले आफ्नो आफ्नो ठाउँबाट चिन्तन र प्रयास गर्ने हो भने धेरै हद सम्म सम्भावित जोखिम नियन्त्रण हुन सक्ने देखिन्छ ।

समयमा नै सोच्न सकेनौं भने हरेक चोकचोक र चमेना गृहमा बसेर हरेक नेपालीले आड्कलबाजी लगाईरहेका “श्रीलंकाको नियती” हामी आम नेपालीले पनि भोग्नु पर्ने दिन टाढा देखिँदैन ।

त्यसैले समयमा नै सचेत भई भविष्यमा पछुताउनबाट जोगिन अहिले देखि नै हरेक नेपाली मनमनमा “नेपालीपन” को भाव आउन जरुरी देखिन्छ ।

अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? ?
“विदेशी सिनेमा वहिष्कार,नेपाली सिमान स्वीकार”

Tej Giri featured
तेज गिरी
लेखक मुक्तिनाथ विकास बैंकका कर्मचारी हुन भने नेपाली सिने जगतमा पनि उनको राम्रो उपस्थिती रहेको छ । यस लेखमा प्रस्तुत विचार र अनुभव लेखक स्वयमकै रहेको छ ।