१४ बैशाख २०८१, शुक्रबार

पूर्पक्षका लागि थुनामा पल शाहलाई राख्न पूर्वी नवलपरासी अदालतको आदेश

paul shah
फाइल फोटो

अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका शाहलाई मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ । बैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

एक वर्षअघि गैंडाकोटमा गीतको सुटिङका क्रममा अभिनेता शाहले किशोरी गायिकालाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।

१४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानूनी व्यवस्था छ । पीडित भनिएकी किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । उनले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । त्यस्तै अर्को मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।

पीडित किशोरीको पक्षबाट बहस गरेका ३ जना सरकारी वकिल र २ अघिवक्ताले शाहले बलात्कार गरेको यथेस्ट प्रमाण भएको दाबी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कैद सजायको मागदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई हदैसम्मको सजाय हुन पर्ने माग गरेका छन् ।

तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको थियो । जिल्ला प्रहरीले शाहलाई अदालतको आदेशअनुसार मुद्दा सुरुवात भएको तनहुँ प्रहरी हिरासतमा पठाइने जानकारी दियो ।