१५ बैशाख २०८१, शनिबार

जुम्लाका १४ दल चुनावी मैदानमा, ८ दलले बुझाए विवरण

Nirbachan office 768x445 1

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाका १४ वटा राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको तथ्याङ्क अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ र मान्यता नपाएका ८ दल गरी जुम्लामा १४ राजनीति दल चुनावी मैदानमा उत्रिने भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त ६ दल बाहेक अन्य राष्ट्रिय मान्यता नपाएका ८ दलले निर्वाचनका लागि आफ्नो विवरण बुझाइसकेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयतह निर्वाचन प्रयोजनका लागि दलहरूको विवरण माग गरिए अनुसार ८ वटा दलले विवरण बुझाएका छन् । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरूको विधान अनुसार चुनाव चिन्ह प्रदान गरिने छ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । जस मध्य ६ वटा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

राष्ट्रिय मान्यता प्राप्त दललाई जिल्लामा विवरण बुझाउन नपर्ने भएकोले मान्यता प्राप्त नभएका पार्टीले मात्रै विवरण बुझाएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका प्रमुख शर्माका अनुसार राष्ट्रिय मान्यता नपाएका सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,जन समाजवादी पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल विवरण बुझाएका छन् ।

अनुसूची २ अनुसार दल गठन भएको मिति, पदाधिकारीहरूको नाम, नागरिकता नम्बर, सदस्य सङ्ख्या लगायतका विषय समेटिएको विवरण बुझाइसकेका छन् ।

२०७४ को निर्वाचनमा ५४ हजार ६९४ मतदाता रहेकामा पाँच वर्ष पश्चात् १३ हजार ५० ले बढेर ६७ हजार ७ सय ४४ मतदाता पुगेका छन् । ८९ वटा मतदान स्थल सहित १ सय २ वटा मतदान केन्द्र रहेको कार्यालय जनाएको छ ।

निर्वाचनलाई शान्त र मर्यादित वातावरणमा सम्पन्न गर्न म्यादी छनौट प्रक्रिया टुङ्गो लागि सकेको छ । भने अन्य शान्ति सुरक्षाको अवस्था पनि मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।