६ बैशाख २०८१, बिहीबार

समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास आवश्यक: अध्यक्ष नेपाल

madhav

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक भएको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले मैथिली विकास कोषको आयोजनामा आज देखि जनकपुरधाममा शुरु भएको “जनकपुर साहित्य, कला तथा नाट्य महोत्सव”को उद्घाटन गर्दै मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत्त्वपूर्ण भएको बताउनुभयो ।

उहाँले अधिकारको प्राप्तिका लागि घृणा नभई सद्भाव एवं सहकार्यको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएको बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताउँदै मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले मैथिली भाषा तथा साहित्यको संवृद्धिका लागि राज्यबाट हुनुपर्ने सहयोग गराउनका लागि आफू तयार भएको बताउनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेश सरकारले चाँडै भाषा, साहित्य तथा संस्कृतिको विकासका एवं संरक्षणका लागि मधेस प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभयो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मैथिली भाषा तथा साहित्यका बारेमा बोल्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभास लाभलाई प्रदान गर्नुभयो ।

यसैगरी डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गर्नुभयो । दुवै पुरस्कारमा ५१ हजार नगद, सम्मान पत्र तथा दोसल्ला रहेका छन् ।

२५ गतेसम्म चल्ने कार्यक्रममा विभिन्न प्रकारका गीत सङ्गीत, नृत्य, झाँकी प्रदर्शन गरिएका थिए ।