१४ बैशाख २०८१, शुक्रबार

कमजोर पार्ने र मलाई हराउने षड्यन्त्र भइरहेको छ चितवनमा: प्रचण्ड

prachanda 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् ।

‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उनले भने । माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ । चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गरे ।

‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’ उनले प्रश्न गरे, ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ प्रचण्डले चितवनलाई विकास, शान्ति र परिवर्तनको मोडल जिल्ला बनाउने बताए ।