११ जेष्ठ २०७९, बुधबार

कुटाकुट कांग्रेस नेताबीच टिकट वितरणको विषयमा, गाउँपालिका अध्यक्ष घाइते

Rana bahadur Tamang congress

धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ ।

हात हालाहाल हुँदा नेपाली कांग्रेसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।

तर, उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार घटना मंगलबार रातिको हो ।

आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ ।

कांग्रेस कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाएका छन् । पाख्रिन र तामाङबबीच टिकटका विषयमा विवाद भएको बताइएको छ ।

घाइते तामाङको सत्यादेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । आरोपति पाख्रिनलाई गएराति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरु प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन् ।