४ जेष्ठ २०८१, शुक्रबार

पौडेलको नेतृत्वमा तालमेल प्रक्रियाको अनुगमनका लागि समिति गठन

satta gathabandhan

सत्तारूढ गठबन्धनले आगामी स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा मंगलबार बिहान बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो । उक्त समितिमा पाँचै दलबाट दुई-दुई जना नेताहरु रहनेछन्। समितिमा रहने अन्य नेताहरुको नाम भने दलहरुले सिफारिस गर्ने भएका छन्।

साथै बैठकले मुलुककाे अर्थतन्त्र सुधारका लागि राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ ।

यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । तर, तालमेलको स्पष्ट खाका नबनिसकेका कारण जिल्लास्तरबाट भइरहेका गठबन्धन गर्ने निर्णय कार्यान्वयनमा अघि बढ्न सकेको छैन ।

आजको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पाैडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।