२० बैशाख २०८१, बिहीबार

राजधानीमा बसेर मधेशीलाई अराष्ट्रवादी देख्ने चश्मा नै दोषी : गृहमन्त्री खाँण

khad

मधेशी जनतालाई अराष्ट्रवादी देख्ने चश्मा नै दोषी भएको गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । 

बाराको सिम्रौनगढ नगरपालिका स्थित झरोखर पोखरीको डिलमा निर्माण गरिएको प्रजातन्त्र सेनानी भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गृहमन्त्री खाँणले सोमबार कार्यक्रमलाई सम्बोधन गर्दै मधेश र मधेशी प्रति हेर्ने दोषी चश्मा नै अराष्ट्रवादी भएको बताउनु भएको छ । 

मधेशमा बस्ने मधेशीहरु नै सच्चा राष्ट्रभक्त हुन् । उनीहरु विना वर्दीका सिपाही हुन जो अहोरात्र सिमामा रहेर सिमाको सुरक्षा गर्नु हुन्छ । आफनो देशको एक इन्च जग्गा पनि अरु देशले कब्जा गर्न खोजे त्यसको लागि प्राणको आहुति दिएर पनि देशको सीमाको सुरक्षाको जिम्मेवारी लिएर बसेका सच्चा राष्ट्रभक्त र विना वर्दीका सिपाही हुन मधेशीहरु हुन । नेपालको राष्ट्रियतालाई बलियो बनाउने काम मधेशमा बस्ने मधेशीहरुले गरेका हुन उहाँले भन्नुभयो, राजधानीमा बसेर राष्ट्र राष्ट्रवादी र अराष्ट्रवादी छुट्टयाउने नेताको चश्मा नै दोषी भएको उहाँले आरोप लगाउनुभयो । 

बारा जिल्लाले हाम्रो देशलाई विश्वमा चिनाएको छ उहाँले भन्नुभयो, ‘बारा जिल्लामा रहेको विश्व प्रख्यात गढीमाई मन्दिरले देशलाई विश्वमा चिनाएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेका गढीमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर, झरोखर पोखरी र रानीवासले जिल्लाको एउटा छुट्टै पहिचान दिएको उहाँले बताउनुभयो  । 

देशलाई शान्त र समृद्ध बनाउन नेपाली कांग्रेस लागि परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताएर देशमा शान्ति र समृद्धि स्थापना गराउने समय आएको छ उहाँले भन्नुभयो, ‘देशमा शान्ति र समृद्धि ल्याउने एक मात्र पार्टी नेपाली कांग्रेस हो । कांग्रेस बाहेक अरुले यो देशमा शान्ति समृद्धि ल्याउन सक्दैन । नेपाल बहुभाषिक बहुसांस्कृतिक देश हो । विविधताले भरिएको यो देशमा एकताको सुत्रमा बाध्ने काम नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकोले निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनु पर्ने समय आएको छ । नेपाली कांग्रेस बलियो भयो भने देश बलियो हुन्छ । त्यसैले निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिएर जिताउन उहाँले अनुरोध गर्नुभयो । 

मधेश प्रदेशलाई नेपालको सबैभन्दा राम्रो र विकसित प्रदेश बनाउने लक्ष्यका साथ नेपाली कांग्रेसको सरकार अगाडी बढेको छ । मधेशको उर्वर भूमि जहा“का अधिकांश मानिसहरु कृषि मै निर्भर छन् सरकारले कृषिमा अनुदानको व्यवस्था गरेको छ । मधेशमा सबैभन्दा विकराल समस्याको रुपमा रहेको नागरिकता समस्यालाई पनि सबैसाथ, सहयोग र सहकार्यबाट चाँडै अन्त्य गर्ने गरि कामहरु भइरहेको र नागरिकता विधयेक समेत सदनमा पेश गरिएको उहाँले जानकारी दिनुभयो । 

एक अर्को प्रसंगमा बोल्दै गहमन्त्री खाँणले मिलिनियम च्यालेञ्ज कार्पोरेशन (एमसीसी) बारे केही राजनितिक दलहरुले भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । त्यस्ता भ्रममा नपर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । एमसीसीले देशको विकासमा टेवा पुग्ने भएकोले यसको आवश्यकता महसुश गरी पास गरिएको हो । आयोजनाको कारण कुनै पनि विदेश सेना नेपालमा नआउने । एमसीसी कुनै सैन्य सम्झौता होइन । देशमा भएका नदी नालाहरुबाट विजुली निकालेर विक्री गर्ने त्यो पनि अनुदानमा यसले देश विकासमा महत्वपूर्ण योग्दान गर्ने भएकोले यो सम्झौता गरिएको उहा“ले जानकारी दिनुभयो । तारबाट सेना होइन विजुली आउँछ ? उहाँले व्यङ्ग गर्नुभयो । 

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री फरमूल्लाह मंसुर, नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री उमाकान्त चौधरी, महेन्द्र यादव, राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।