१५ बैशाख २०८१, शनिबार

अपरिचित युवाले सामाजिकसंजाल साथी बनाएर खाजा खुवाउने बहानामा बलात्कार

Rape 2

सामाजिकसंजाल फेसबुकमा साथी बनेका अपरिचित युवाले खाजा खान बोलाएर बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सिराहा जिल्लाको सिराहा नगरपालिकाका २९ वर्षीय मुकेशकुमार यादवले ३६ वर्षीया ती महिलालाई ५ दिनअघि बलात्कार गरेका हुन् ।

रामेछापको मन्थलीमा यादव र ती विवाहित महिलाको भेट भएको थियो । फेसबुकमा साथी हुनु बाहेक उनीहरु दुईबीच चिनजान थिएन ।

प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार फेसबुक मेसेन्जरमा कुराकानी हुँदा भेटेर खाजा खाने योजना थियो । मन्थलीकै एक होटलमा पुर्‍याएर यादवले महिलालाई कोठा बन्द गरी जबर्जस्ती बलात्कार गरेको महिलाले दिएको उजुरीमा उल्लेख छ । कतै भनिस् र हल्ला गरिस् भने मारिदिन्छु भन्दै धम्काएर बलात्कार गरेपछि यादव फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटनापछि भाग्दै गरेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको छ । यादव जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् ।