२० बैशाख २०८१, बिहीबार

टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै: जोडजाम गरिदिएको पुतली हो पाँच दलीय गठबन्धन: ओली

oli
फाइल फोटो

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।

‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भने ।

पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भने, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’

त्यस्तै ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू दक्षिणपन्थी गठबन्धनमा गएको बताए । ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको बताएका बताए ।

ओलीले भने, ‘उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।’