१७ बैशाख २०८१, सोमबार

जतिवटा गठबन्धन आए पनि एमाले एक्लै काफी : वरिष्ठ उपाध्यक्ष पोखरेल

Ishor pokhrel
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच गठबन्धन आए पनि एमाले एक्लै काफी हुने दाबी गर्नुभयो । ‘हामीले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने हाम्रो प्रयत्न हो,’ पोखरेलले भन्नुभयो ।

सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उहाँले संवेदनशिल विषयमा निर्णय गर्दा पनि आयोगले दलहरुसँग छलफल नै नगरेको बताउनु भयो । ‘मनोनयन दर्ता गर्ने समय दुई दिन रे । केका लागि दुई दिन ?’, उहाँले भन्नुभयो, ‘आयोगले पनि दलहरुसँग परामर्श गरेको छैन । मतपत्रको रङको विषय पनि अनौठो छ ।’

स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा चुनावी तालमेल हुनसक्ने बताउनु भयो । ‘स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा अन्य दलसँग तालमेल गर्नु अलग कुरा हो । तर, केन्द्रीय तहबाट कुनै दलसँग चुनावी तालमेल हुँदैन,’ पोखरेलले बताउनु भयो । एमाले कुनै दलसँग गठबन्धन गर्ने पक्षमा नरहेको उहाँले बताउनु भयो । प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै पोखरेलले माओवादी केन्द्रसँग गठबन्धन नहुने दाबी गर्नु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुच्चे नक्सा राखिएको भन्दै पोखरेलले प्रधानमन्त्रीको आलोचना गर्नु भएको हो ।

नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै पोखरेलले भन्नुभयो, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसावले जसरी भ्रमणमा प्रस्तुत हुनुपथ्र्यो त्यो गर्न सक्नुभएन ।’

अर्को प्रसंगमा पोखरेलले प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको बताउनु भयो । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिनुभयो ।

‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदैछैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ,’ पोखरेलले भन्नुभयो । राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको पोखरेलले बताउनु भयो । नेपाल र भारतको सहमतिमा गठन भएको इपिजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उहाँले बताउनु भयो ।