१४ बैशाख २०८१, शुक्रबार

सीमा विवादबारे मोदीको धारणा के ?, यी चार सम्झौतामा भए हस्ताक्षर

deuba modi

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । सो भेटमा दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरे । साथै देउवाले मोदीसमक्ष सीमा समस्या समाधानको विषय पनि उठाएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार औपचारिक भेटवार्ता भएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले मोदीसमक्ष सीमा समस्याको विषय उठान गरेका छन् ।

दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्ता पछि भएको प्रतिनिधि मण्डल स्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान रहेका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । हैदरावाद हाउसमा भएको संयुक्त प्रेस सम्मेलनमा सम्बोधन गर्दै देउवाले मोदीलाई भारत भ्रमणको निम्तो दिएका हुन् ।

संयुक्त प्रेस सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताए । उनले आफूहरुबीच आपसी सहयोग, विकास परियोजनाको बारे छलफल भएको बताए । मोदीले नेपालका प्रधानमन्त्री देउवा भारतको पुरानो मित्र रहेको दाबी गर्दै नेपाल–भारतको राजनीतिक विकासमा देउवाको उच्च योगदान रहेको टिप्पणी गरे ।

साथै मोदी र देउवाले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएसँगै जयनगरबाट रेल नेपालका लागि छुटेको छ ।

रेलसँगै देउवा र मोदीले सोलु करिडोरको प्रसारण लाइन उद्घाटन गरेका थिए । एक सय ३२ केभी प्रसारण लाइनको सोलु करिडोरमा तीन सय दुई वटा टावर रहेका छन् । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलासम्मको प्रसारण लाइन ९० किलोमिटर लामो रहेको छ ।

करिडोरमा सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भएको हो । बनारस भ्रमण गरेसँगै देउवा भोलि नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।