
सरकारले चीन सरकारसँग सम्झौता भएको तेल तथा ग्यासको स्रोत सर्वेक्षण परियोजनाको समय अवधि थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो परियोजनाको समय अवधि २ वर्ष थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले चिन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान र रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी सहायता स्वीकार गर्ने, दुई देशबिच शून्य भन्सार तथा कोटारहित सुविधा सम्बन्धी सम्झौता र ग्रिड आबद्धताको सम्भाव्यता अध्ययन सम्झौता स्वीकार गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।
यस्तै, सरकारले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा स्याङ्जाका लेखनाथ शर्मा पङ्गेनी र काठमाडौँका जीवन अंगाईलाई नियुक्त गर्ने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।