१४ बैशाख २०८१, शुक्रबार

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न माग

61f27593e6d26 17
फाइल फोटो

नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव छ । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको व्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको ठम्याई छ ।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन निगमले माग गरेको छ ।

इन्धनको मूल्य वृद्धिमा उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन निगमले १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाएको हो । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमको भनाई छ ।

पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव निगमले गरेको छ ।