१४ बैशाख २०८१, शुक्रबार

८८ लाख हिनामिना गरेको आरोपमा अख्तियारको छापा

जगरनाथपुर गाउँपालिका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा छापा मारेको छ ।

आयोगको हेटौडास्थित क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्वमा खटिएको टोलीले आज दिउँसो जगरनाथपुर गाउँपालिकाको कार्यालयमा पुगेर कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न गत बर्ष पुसमा सङ्घीय सरकारले पठाएको अनुदानको रकम हिनामिना भएको उजुरीको आधारमा अख्तियारले गाउँपालिकाको कार्यालयमा छापा मारेको हो ।

गत पुसमा सङ्घीय सरकारले जगरनाथपुर गाउँपालिकाका कोभिड प्रभावित परिवारलाई जनही १० हजार रुपैयाँका दरले वितरण गर्नका लागि ८८ लाख रुपैयाँ गाउँपालिकाको कार्यालयमा पठाएको र सो रकम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको उजुरीको आधारमा अनुसन्धानका लागि कागज पत्र नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । यता गाउँपालिका कार्यालयले भने उक्त रकम , कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट केन्द्रमा पेश गरिसकेको छ ।

तर त्यहाँका कोभिड प्रभावित कसैले पनि रकम पाएका छैनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको स्वीकार गर्नुभएको छ ।

८८ लाख मध्ये २४ लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी दिएको बताउँदै कार्यालयबाट पैसा सापट्टि लिएका साहको कोरोना सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ ।