८ बैशाख २०८१, शनिबार

सर्वसम्मतिबाट अनुमोदन न्यायाधीश श्रेष्ठको नाम

supreme

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उहाँले विभिन्न समय र स्थानमा रही चाल्नुभएका कदमको समिति सदस्यले सो अवसरमा प्रशंसासमेत गर्नुभयो ।

न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आउनुभएको छ ।

न्याय परिषद्ले उहाँको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।

उहाँले अदालतमा मुद्दा छिनोफानोका क्रममा विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्र्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गर्नुभएको छ । रासस