१२ बैशाख २०८१, बुधबार

प्रतिस्पर्धा पनि नगर्ने, चुनाव बहिष्कार नगर्ने, जनपक्षीय उम्मेदवारलाई समर्थन गर्ने: विप्लव

biplab
फाइल फोटो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ । 

आगामी स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको हो ।

चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको सो पार्टीको बैठक १० दिन बसेर सोमवार सकिएको हो । मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिनुभयो । 

‘तीनवटा विषय बैठकका एजेण्डा थिए । जसमा महाधिवेशन, एमसीसी र निर्वाचनको विषयमा छलफल र निर्णय भयो’, नेता बास्तोलाले रातोपाटीसँग भने, ‘महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको छ ।’

निर्वाचन आयोगमा दर्ता नगर्ने तर देशभक्त, प्रगतिशील शक्तिलाई समर्थन गर्ने नीति पार्टीले लिने निर्णय गरिएको उहाँको भनाइ छ ।

यद्यपी संस्थागत रुपमा पार्टी निर्वाचनमा नगएपनि व्यक्तिगत रुपमा जनपक्षीय उम्मेदवारलाई सघाउन सक्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

बैठकमा महासचिव विप्लवले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए । उहाँले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।