७ बैशाख २०८१, शुक्रबार

बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ अनलाइनमा लिक

rrr

निर्देशक एसएस राजामौलीको ५०० करोड लागतमा बनेको बहुप्रतीक्षित फिल्म आरआरआर लिक भएको छ । शुक्रबारदेखि संसारभर रिलिज भएको फिल्मले कीर्तिमानी ओपनिङ गरेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार तमिल रकर्सले रिलीजको केही घन्टापछिनै फिल्मलाई अनलाइनमार्फत लिक गरेको हो । एसएस राजामौलीको आरआरआर यो वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एक हो। हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालमसहित फिल्म अन्तर्राष्ट्रिय भाषामा पनि रिलिज भएको छ । अनलाइनमा लिक हुने आरआरआर पहिलो फिल्म होइन ।

यसअघि प्रभासको राधे श्याम, अजीतको वालीमाई लगायत फिल्म पनि लिक भइसकेका छन् । फिल्म आरआरआरमा अजय देवगन र आलिया भट्टको समेत अभिनय रहेको छ। यो फिल्मलाई लिएर निर्माणपक्ष उत्साहित छ ।

फिल्मको अनलाइन लिक हुँदा बक्स अफिसमा असर पर्ने निर्माण पक्षले बताएको छ । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो ।

‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो । उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो। पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा कीर्तिमान हो । एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो। ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो । ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ । ‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो ।

बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे। यो स्वाभाविक पनि हो । बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले। पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए ।