७ बैशाख २०८१, शुक्रबार

कहाँ अड्कियो आरआआर रेस्टुरेन्ट योजना ?

RRR

साउथका सुपरस्टार रामचरण र जुनियर एनटीआरले फिल्म ‘आरआरआर’मा आफ्नो जबर्जस्त अभिनयसँगै कैयौं रेकर्ड तोडे । एसएस राजामौली निर्देशित फिल्मले विश्वव्यापी १५ सय करोडभन्दा बढी कलेक्स्न गरेर सन् २०२२ कै ब्लकबस्टर फिल्म साबित भयो ।

फिल्मको क्रेज अझै सकिएको छैन । फिल्मको सफलतापछि एक तेलुगू फिल्म निर्माताले ‘आरआरआर’का अभिनेता रामचरण र जुनियर एनटीआरसँग ‘आरआरआर’ ब्रान्डको नाममा एक रेस्टुरेन्ट खोल्ने योजनासहित सम्पर्क गरेका थिए । जुन योजनामा उनी निर्देशक राजामौलीलाई पनि साझेदारका रूपमा राख्न चाहन्थे ।

ती निर्माताले रेस्टुरेन्टमा एक उत्कृष्ट कुक राखेर स्वादिलो भारतीय खाना तथा परिकार बनाउन चाहन्थे । उनले रेस्टुरेन्टको सजावट पनि फिल्मको कथाजस्तै बनाउन चाहन्थे ।

यसबाहेक रेस्टुरेन्टमा कार्यरत कर्मचारीलाई भारत स्वतन्त्र हुनुअघिको पहिरन प्रयोग गराउने उनको योजना थियो । तर फिल्म रिलिजपछि रामचरण र जुनियर एनटीआर दुवै आफ्नो काममा व्यस्त भए ।

जसकारण ‘आरआरआर’ थिमवाला रेस्टुरेन्टका लागि काम गर्ने विषयमा दुवै अभिनेता सहमत भए या भएनन् भन्ने कुरा खुलेको छैन ।