१३ बैशाख २०८१, बिहीबार

शिक्षित र योग्यलाई उम्मेदवार बनाउन युवाहरूको दबाब

yogya ummedbar chhann dabab 1024x524 1

अगामी वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनमा शिक्षित र योग्यलाई उम्मेदवार बनाउन युवाहरूले धनुषाको मिथिला नगरपालिकामा अभियान सञ्चालन गरेर दलहरूलाई दबाब दिइरहेका छन् ।  

मिथिला नगरपालिकामा सामाजिक क्षेत्रमा सक्रिय रहेको मिथिला नगर युवा सञ्जालले विगत एक महिनादेखि ‘योग्य उम्मेदवार छनौट अभियान’ सञ्चालन गरिरहेका छन् । निर्वाचन लक्षित उक्त अभियान अन्तर्गत दोस्रो चरणमा शनिवारबाट उनीहरूले गाउँ गाउँमा सचेतना कार्यक्रम सुरु गरेका छन् ।

अभियानलाई प्रभावकारी बनाउन गाउँ गाउँमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, नागरिक समाजसहितको सहभागितामा भेला गराएर सञ्जालका पदाधिकारी तथा सदस्यहरूले शिक्षित र योग्य उम्मेदवारको विषयमा सचेतना फैलाउन थालेका छन् ।
यसअघि अभियानको पहिलो चरणमा उनीहरूले सबै राजनीतिक दलका स्थानीय प्रतिनिधीहरुलाई सर्तसहितको योग्य उम्मेदवार छनौट गर्न दबाब स्वरूप ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले बुझाएको ज्ञापन पत्रमा योग्य उम्मेदवार छनौट गर्न अघि सारेको शर्तमा शिक्षालाई मुख्य जोड दिएको छ । 

स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरको उम्मेदवार बन्न स्नातकतह उत्तीर्ण र ५ वर्षको संस्थागत वा पार्टीगत सार्वजनिक काम कार्यको अनुभव हुनुपर्ने जस्ता सर्त राखेको छ । यस्तै, वडाध्यक्षका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण र ३ वर्षको संस्थागत वा पार्टीगत सार्वजनिक काम कार्यको अनुभव हुनुपर्ने र वडा सदस्यको उम्मेदवार बन्न कक्षा १० उत्तीर्ण र २ वर्षको संस्थागत वा पार्टीगत सार्वजनिक काम कार्यको अनुभव हुनु पर्ने गाइड लाइनसहित ज्ञापनपत्र दलका स्थानीय प्रतिनिधीहरुलाई बुझाएको सञ्जालका प्रवक्ता रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

योग्य उम्मेदवार छान्न दबाब स्वरूप नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायतका राजनीतिक दलका नगर कमिटी प्रमुखलाई ज्ञापनपत्र बुझाएको सञ्जालका अध्यक्ष राजुकुमार सिंहले बताउनुभयो ।

‘अभियानको पहिलो चरणमा हामीले पार्टी प्रतिनिधीहरुलाई एउटा मापदण्ड तोकेर ज्ञापन पत्र बुझाएका छौँ,’ अध्यक्ष सिंहले भन्नुभयो, ‘त्यो मापदण्ड अनुसार निर्वाचनमा उम्मेदवार छनोट गर्न आग्रह गरेका हौँ । त्यसमा हामीलाई दलका प्रतिनिधीहरुले सकारात्मक आश्वासन दिनुभएको छ ।’शिक्षित र योग्य जनप्रतिनिधिको अभावमा देशकै अधिकांश स्थानीयतहमा जनचाहनाअनुसार काम नभएको उहाँले दाबी गर्नुभयो । युवा तथा बुद्धिजीवीहरूको संंघसंगठनले यो अभियानलाई देशव्यापी रुपमा अघि बढाउनुपर्नेमा अध्यक्ष सिंहले जोड दिनुभयो ।

gyapan patra