६ बैशाख २०८१, बिहीबार

१९ वर्षदेखि फरार प्रतिवादी पक्राउ

police dolakha

 जिल्ला प्रहरी कार्यालय दोलखाले पछिल्लो समय फरार प्रतिवादी पक्राउ गर्न मातहतको प्रहरी युनिटलाई सक्रिय बनाएको छ । मातहतको प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले १० दिनको अवधिमा विभिन्न मुद्दाका आठ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले बताउनु भयो ।

पक्राउ गरिएकाहरूमा दुई जना १९ वर्षदेखि फरार प्रतिवादी समेत रहेका छन् । २०६० साल चैत्र चार गतेदेखि फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर २ का मनु तामाङ र कुटपिट, लुटपाट मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर ९ का माईली थामी समेत रहेको प्रहरी निरक्षिक अञ्जन कोइरालाले बताउनु भयो ।

 पक्राउ गरिएका अन्य फरार प्रतिवादीहरूमा बहुविवाह मुद्दाका प्रतिवादी दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर १ नरहरी विक, नकवजनी चोरी मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर ५ का निरोज मुग्राती, गालीबेजती मुद्दाका प्रतिवादी शैलुङ गाउँपालिका वडा नम्बर ८ का झागादेवी कार्की, अखेटोपहार (वन्यजन्तु) मुद्दाका प्रतिवादी शैलुङ गाउँपालिका वडा नम्बर ८ का लालबहादुर विक र प्राचीन स्मारक मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर ३ का शिवहरी थापा र उद्धव गौतम रहेको प्रहरी निरीक्षक कोइरालाले बताउनु भयो । 

पक्राउ गरिएका फरार प्रतिवादीहरूबाट जम्मा कैद एक वर्ष एक महिना १५ दिन र जम्मा जरिवाना असुल एक लाख ८६ हजार तीन सय ९६ रुपैयाँ २५ पैसा भएको प्रहरी निरीक्षक कोइरालाले बताउनु भयो ।

पक्राउ गरिएका फरार प्रतिवादीहरू मध्य बहुविवाह र नकबजनी चोरीका प्रतिवादीहरूबाट कैद तथा जरिवाना दुवै असुल गर्नुपर्ने र अन्यबाट जरिवाना असुल गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ ।