१५ चैत्र २०८०, बिहीबार

कमला नदीको पुल भत्किएको १४ महिना वित्दा पनि बनेन

kamala pul

हुलाकी राजर्मागमा रहेको कमला नदीको पुल भत्किएको १४ महिना वितिसक्दा पनि पुनः निर्माण भएको छैन । पुल नहुँदा जोखिम मोलेर नदी वासपार गर्न स्थानीय बाध्य छन् । हुन त मधेश प्रदेशको लाइफलाइन नै मानिएको हुलाकी राजर्मागको काम पनि पनि अधुरै छ । हुलाकी राजमार्ग आयोजनाको समयावधि एक बर्ष मात्र बाँकी रहँदा पनि काम सुस्त हुँदा समयमै पूरा हुने देखिँदैन ।

उद्घाटनअघि नै हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमाथिको पुल भासिएको १४ महिना भयो । २०६८ साल मंसिरमा शिलान्यास भएको ४ सय ७० मिटर लामो पुलको १२ वटा स्पान मध्ये २०७८ साल असार २० गते आएको बाढीका कारण दुईटा पिलरसागै स्लाप पनि भासिएको थियो । पानीको बेग र बहाव अनुसारको जग नरहेकै कारण पुल भासिएपछि स्थानीय जोखिम मोलेर आउजाउ गर्न बाध्य छन् ।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण सञ्चालन हुनु अगावै २४ करोड ४२ लाख रुपैयााको लागत निर्माण गरिएको यो पुलको यस्तो हविगत भएपछि उच्चस्तरिय प्राबिधिक टोलीले स्थलगत अनुगमन गरेको थियो । तर, न त पुल भासिनुको कारण थाहा भयो न त  कामै सुरु गरिएको छ ।  

मधेश प्रदेशमा निर्माणाधीन हुलाकी राजमार्गको अबस्था पनि उस्तै छ । जनकपुर-जलेश्वर भिठ्ठामोड र जनकपुरधामको कदमचोकदेखि-तिनकौरिया हुदै कमला नदीसम्मको सडकको काम सुरु भएको ६ वर्ष बितिसके पनि अझै पुरा हुन सकेको छैन ।

धनुषा, सिरहा र सर्लाहीमा भारतीय अनुदान सहयोगमा झण्डै १ सय ४ किलोमिटरमध्ये सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । नेपाल सरकारको स्रोतबाट निर्माण गर्ने भनिएको झण्डै २ सय ९० किलोमिटर मध्ये २ सय २ किलोमिटर मात्र पुरा हुन सकेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । तर नेपाल सरकारको लगानीमा निर्माण गरिएका सडकमा भने खाल्डाखुल्डी देखिएको छ । 

सडक सिमा सम्वन्धी बिवाद, सडक तथा पुलहरुको डिजाईन निर्माण स्थल अनुसार मेल नखानु, बिजुली तथा टेलिफोनका तार र पोलहरु स्थान्तरण नहुनु, सरकारले समयमा रकम उपल्बध नगराउनुलगायत कारणले हुलाकी राजर्मागको निर्माण समयमा पुरा हुन नसकेको हो ।