१४ बैशाख २०८१, शुक्रबार

अदालतमा पल शाहविरुद्ध ११७ वटा प्रमाण पेश

paul

बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध प्रशस्त प्रमाण पेश भएका छन् । शाहविरुद्ध जिल्ला अदालत तनहुँमा सरकारी वकिलको तर्फबाट ११७ वटा प्रमाण तथा कागजात पेश भएका हुन् ।

प्रहरीले सबै अनुसन्धान सकाएर सरकारी वकिलकोमा प्रतिवेदन बुझाएको थियो । मुद्दामा शाहमाथि १४ वर्षको सजाय मागदाबी गरिएको छ ।

शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए ।

बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो । १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो ।