१५ बैशाख २०८१, शनिबार

जनकपुरमा पैसा छरेर फरार नन्द-भाउजू पक्राउ , एकमा आरडीटी पोजेटिभ

arrest women

जनकपुरधाममा रकम छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम-७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।

उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए ।

कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । 

प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जामुन प्रसाद सिंहले अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको पुष्टि गरे । 
उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।