१३ बैशाख २०८१, बिहीबार

डेढ–दुई महिनामा मधेसलाई माओवादीमय बनाउनुपर्छ : प्रचण्ड

prachanda janakapur

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले डेढ–दुई महिनामा मधेसलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने बताएका छन् ।

मंगलबार जनकपुरधामको तिरहुतिया बरगाछिमा भएको प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा पार्टीका लागि जीवनमरणको विषय भएको बताए । उनले माओवादी हार्दा देश हार्ने दाबी गरे ।

“यो निर्वाचन अरुका लागि चुनाव मात्र हो । तर, हाम्रा लागि जीवनमरणको विषय हो । हामी हार्दा देश हार्छ । अरु हार्दा देश जित्छ,” प्रचण्डले भने ।

उनले गठबन्धनको आशा गरेर ‘रिल्याक्स’ नगर्न पनि नेता/कार्यकर्तालाई निर्देशन दिए । “गठबन्धनको आशा गरेर रिल्याक्स नगर्नुस् । आफ्नो खुट्टा बलियो बनाउनुस्,” उनले भने ।

त्यस्तै, उनले मधेसका युवालाई भाडभैलो गर्न खोज्नेलाई इँटको जबाफ पत्थरले दिन पनि भनेका छन् ।

गरिब किसान, मजदुर, भूमिहीन, महिला, दलित, जनजाति, हिमाली आदिवासी, सीमान्तकृत समुदाय सबैलाई समावेशी र समानुपातिक प्रतिनिधित्व माओवादीको कारण भएको उनले उल्लेख गरे ।

यस्तै, प्रचण्डले नेकपा (एमाले)का कारण नागरिकता विधेयक रोकिएको बताए । “तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिस्टले नै मधेसी जनताको अधिकारमाथि खेलवाड गरेको छ,” उनले भने,“नागरिकता विधेयक पनि एमालेको कारण रोकिएको छ । हामीले जनतामा गएर यो भनिदिनुपर्छ ।”