१४ बैशाख २०८१, शुक्रबार

अरुले भ्रष्टाचार गर्छन्, दोष एमालेलाई लगाउँछन् : ओली

kp oli 3
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेका सरकारजस्तो अन्य कुनै सरकारले काम गर्न नसकेको दाबी गरेका छन् ।

काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

“आउँदो निर्वाचनमा हामी बहुमत ल्याउँछौँ र यो देशका लागि बहुमत ल्याउनुपर्छ । त्यसका लागि लाग्नुस्,” उनले भने,“हामीले विगतमा नै धेरै काम गरेका छौँ । जनताको विभिन्न क्षेत्रमा काम गरेका छौँ ।”

अध्यक्ष ओलीले आफूहरुको पार्टीमा दिनदिनै बढिरहेका बताएका छन् । “अहिले एमालेमा ९ लाख कार्यकर्ता छन् । यति धेरै साथीहरु अटाएका छन् । एमालेको संख्या बढेको बढ्यै छ,” उनले भने,“एमाले दिनदिनै बढिरहेको छ । सबै साथीहरुलाई यसमा अटाएर लैजान्छौँ ।”

उनले एमालेले नचाहिँदो काम नगर्ने पनि बताएका छन् । “वाइड बडी खरिद गर्दा भ्रष्टाचार अरु गर्छन् अनि दोष एमालेलाई लाउँछन्,” उनले भने,“हामी दायाँ बायाँ गर्दैनौँ । देशको समृद्धि र जनतालाई सुखी राख्ने काममा लागेका छौँ ।”

ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व–पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुवात आफूले गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास रोकिएको बताए ।

अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए ।

ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी ओलीको थियो ।