८ बैशाख २०८१, शनिबार

मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी, कर्फ्यू उल्लङ्घन गर्ने १२ जना पक्राउ

CDO Morang

मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू जारी छ।

प्रहरीकै ज्यान जाने गरी झडप भएपछि सोमबार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको हो।

अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।

यसअघि प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार घटनास्थलको स्थलगत जानकारी लिएको छ।

प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गरेको छ । स्क्रिनिङका क्रममा प्रहरीले एक दर्जन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यसैबीच सोमबार कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिनुभयो ।

खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्।